निवर्तमान सभामुख कृष्णबहादुर महराबाट भएकाे भनिएकाे ‘बलात्कार प्रयास’ की ‘पीडित’ रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ मा त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।
स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । त्यस्तै, प्रहरीले महराको पनि उनी पक्राउ परेकै दिन शिक्षण अस्पतालमै स्वास्थ्य परीक्षण गराइसकेको छ । तर, महराको स्वास्थ्य परीक्षण एवं फरेन्सिक जाँचको रिपोर्ट आउन भने बाँकी नै रहेको खबर मातृका दाहालको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।