सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ । पार्टी एकता भएको डेढ वर्ष पुग्दा समेत शीर्ष तहको असमझदारीका कारण कयौं विषय टुंगो लाग्न सकेका छैनन् ।
पार्टी एकताको घोषणा हुँदा तीन महिनाभित्र तल्लो कमिटीसम्म एकताका सम्पूर्ण काम सम्पन्न गर्ने घोषणा गरेको १८ महिना पुग्दा समेत आन्तरिक किचलोका कारण एकताले पूर्णता पाउन सकेको छैन । सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी र विभिन्न जनवर्गीय संगठनको एकताका काम सम्पन्न भए पनि अधिकांश स्थानीय तहका कमिटीले पूर्णता पाउन सकेका छैनन् ।
प्रदेश कमिटीले स्थानीय कमिटीको एकता टुंगो लगाउन जिल्ला कमिटीलाई निर्देशन दिए पनि केन्द्रमा रहेको गुटको प्रभावका कारण एकता प्रभावित हुँदै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा असन्तुष्टि राख्दै आएका छन् ।
पहिलो वरियताको वरिष्ठ नेताबाट दोस्रो वरियतामा झारिएको भन्दै सचिवालय बैठकमै अध्यक्ष ओली र नेता नेपालबीच भनाभन समेत भैसकेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।