newskoseli.Com

को बन्दैछ नयाँ सभामुख ? यी हुन् ५ सशक्त दावेदार…

रिक्त रहेको सभामुख पदपूर्ति गर्दै कसलाई नयाँ सभामुख बनाउने भन्नेमा सत्तारूढ दल नेकपाभित्र आन्तरिक गृहकार्य अगाडि बढाइएको छ । निवर्तमान सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहार प्रकरणमा मुछिएपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराको राजीनामासँगै सभामुख पद रिक्त छ । अबको सन्दर्भमा सत्ताधारी नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख पद आफैंले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि बढाएको हो । सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेका बेला सोमबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वयको छलफलमा चीनका राष्ट्रपति सी जिनविङको भ्रमणको पनि समीक्षा भएको थियो । त्यस क्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ । सभामुख पद हात पार्न सत्तारूढ नेकपाभित्र ठूलै कसरत सुरु भैसकेको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुनु असम्भवजस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् ।

नयाँ सभामुखका लागि हालकी उपसभामुख स्वतः एक दावेदार हुन् भने प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि सभामुखका अर्का बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ । अर्का अध्यक्ष दाहाल पनि नेम्बाङप्रति सकारात्मक छन् । तर, उनीमाथि तत्कालीन माओवादी केन्द्रभित्रबाटै सभामुख बनाउनुपर्ने दबाब बढी छ ।

उता, पार्टीभित्रको शक्ति बाँडफाँटका हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूको दाबी छ ।  पूर्वमाओवादी केन्द्रबाट देवप्रसाद गुरुङ, अग्निप्रसाद सापकोटा र ओनसरी घर्ती लबिङमा छन् । नेकपाबाट अहिले डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । नेकपाले सभामुखमा दाबी गर्दा उपसभामुखले राजीनामा दिनुपर्ने खबर सविन शर्माको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर