सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार राजधानीमा आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ । उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा भएका उपलब्धिको चर्चा गरे ।
पिउने पानीको हाहाकारः चियापानमा एक लाख जनालाई निमन्त्रणा गरेर कार्ड पठाइएको थियो । सोहीअनुसार खाने कुराको तयारी गरिएको थियो । भृकुटीमण्डपमा चियापानका लागि पार्टीका नेता तथा कार्यकर्तासँगै निमन्त्रणा स्वीकार गर्दै पाहुनाहरू सहभागी भएका थिए । तर, चिया र खाजा खान पाए पनि सहभागीहरूले पानी पिउन भने पाएका थिएनन् ।
महरा प्रकरणदेखि सांसदहरु पक्राउसम्मको चर्चाः चियापानमा निवर्तनमान सभामुख कृष्णबहादुर महरा नेता तथा कार्यकर्ताको चर्चाको विषय बनेका थिए । सभामुखका कारण जनतासमक्ष जवाफ दिन कठिनाइ भएको भन्दै नेता र कार्यकर्ताको बीचमा कानेखुसी समेत भएको देखिन्थ्यो ।
सहभागी भएन राजपाः चियापानमा प्रतिपक्षी दल राजपाका नेता तथा कार्यकर्ताहरू सहभागी भएनन् । राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले सरकारमा दम्भ बढ्दै गएकाले आफूहरु उसको चियापानमा सहभागी नभएको प्रतिक्रिया दिएको खबर बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
वामदेव–ऋषि प्रश्नोत्तर, ओलीपछि प्रचण्ड प्रधानमन्त्रीः चियापानकै क्रममा सञ्चारकर्मी ऋषि धमलाले नेकपाका प्रस्तावित उपाध्यक्ष एवं हेडक्वार्टर कमिटीका सदस्य वामदेव गौतमलाई विगतमा भएको भनिएको आलोपालो प्रधानमन्त्रीसम्बन्धी प्रश्न तेर्स्याए । धमलाका प्रश्नको जवाफ दिँदै गौतमले ‘ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने’, आफू नै त्यसको मध्यस्थकर्ता भएको र विगतका सहमतिहरु कार्यान्वयन हुनुपर्ने बताइदिए ।