newskoseli.Com

सेटिङमा मिर्गौला व्यापार : अस्पताल सञ्चालककै मिलेमतोमा देशैभरि धमाधम !

मानव शरीरको एक महत्त्वपूर्ण अंग मिर्गौला (किड्नी) को सेटिङमा हुने बिक्रीको क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट मिर्गौला बिक्री भइरहेको छ ।

हालै मात्र राजधानी काठमाडौंमै डाक्टर र अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखनको घटना सार्वजनिक भएको छ । यो क्रम राजधानीमा मात्र सीमित छैन, यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरसम्ममा हुने गरेको छ । स्रोतका अनुसार काँकडभिट्टा–पानीट्यांकी, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली मिर्गौला बेच्न प्रयाेग गरिने मानिस ओसारपसारका साझा विन्दु हुन् ।

मुख्यतः घरपरिवारको खर्च जोहो गर्नका लागि न्यून आय भएकाहरू मिर्गौला दिन तयार हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार ५ देखि १० प्रतिशतसम्म सबै खालको मिर्गौला प्रत्यारोपणका घटनामा प्रापकले अंग खरिदका लागि अन्य देशको भ्रमण गर्ने गर्छन् । राष्ट्रिय मानवअधिकार आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनअनुसार गरिब परिवार नै मानव अंग बेचबिखनबाट पीडित हुने गरेका छन् ।

बीचौलियाहरूले मिर्गौला प्रत्यारोपण गर्न चाहनेहरूलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म उपलब्ध गराउने आश्वासन दिने गरेको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनले देखाउँछ । तर, प्रत्यारोपण गरिसकेपछि पीडितले २० हजारदेखि ३० हजार रुपैयाँसम्म पाउने गरेको प्रतिवेदनले देखाउँछ ।

मिर्गौला बिक्री गर्नेहरूको जालो बढ्दै गए पनि तथ्यांक एकीकृत हुन नसकेको खबर प्रशान्त वलीको बाइलाइनमा शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर