२०७४ चैतमा उपसभामुख निर्वाचित भएपछि शिवमाया तुम्बाहाङ्फेको पहिलो प्रतिक्रिया थियो– ‘जिम्मेवारी कसैले दिएर लिनेभन्दा पनि आफैंले लिने हो ।’ चार दशकदेखि राजनीतिमा सक्रिय तुम्बाहाङ्फे यहाँको ‘संस्कार’ सँग परिचितत नै थिइन् ।
जोड्ने, घटाउने, उचाल्ने र पछार्ने चलन अरुतिर जस्तै उनी आबद्ध तत्कालीन एमालेमा पनि थियो । अहिले नेकपामा पनि त्यो प्रवृत्ति हटेको छैन । त्यसैले पार्टी राजनीतिमा आफूभन्दा पछि आएका र थोरै काम गरेका पनि भटाभट अघि बढ्दा कताकता अलमलिए झैं महशुस गर्थिन् ।
राजनीतिक जीवन सुरु गरेको ३९ वर्षपछि भने उनी संसदको दैलोभित्र छिर्न पाइन् । अहिले संसदको आयु ३ वर्ष बाँकी छँदै सभामुख कृष्णबहादुर महराको अप्रत्याशित बहिर्गमनले उपसभामुखमा तुम्बाहाङफेको यात्रा धरमरमा छ ।
उनी सभामुख बन्न सक्ने बाटो त छ तर राजनीतिक घटनाक्रमले त्यसमा अप्ठ्यारो देखिएको खबर बिनु सुवेदीको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।