सहिद गंगालाल हृदयरोग केन्द्रको सफ्टवेयर ह्याक भएको छ । नेपालबाहिर रहेका ह्याकरको समूहले सफ्टवेयर ह्याक गरेकाे हाे ।
केही दिनदेखि अस्पतालको सिस्टम ह्याक भए पनि अस्पताल प्रशासनले भने केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) लाई जानकारी दिएर सूचना गोप्य राखेको छ । ह्याकर समूहले अस्पताल प्रशासनलाई विभिन्न माध्यमबाट सम्पर्क गरेर केही रकम समेत मागेका छन् । साे समूहले बिट क्वाइन रकम मागेकाे छ । बिट क्वाइनमार्फत फिरौती लेनदेन गर्ने, त्यसमार्फत मात्रै पैसा जम्मा हुन सक्ने उनीहरुले बताएका छन् । यदि त्यसो नगरे अस्पतालको सबै विवरण बाहिर ल्याउने धम्की दिइरहेको अस्पताल निकट स्रोतले बतायो ।
ह्याकरहरूले कम्प्युटरको सबै विवरण पुरानै अवस्थामा ल्याउनका लागि १५ लाख रुपैयाँ आवश्यक भएको भन्दै १५ लाख रुपैयाँभन्दा बढी रकम मागिरहेको खुलेको छ । रकम नदिए अस्पतालसँग सम्बन्धित सम्पूर्ण सूचना सार्वजनिक गर्ने ह्याकर समूहको धम्की छ । अस्पताल प्रशासनबाट ह्याकिङसम्बन्धी कुनै पनि जानकारी नआएको प्रहरीले जनाएको छ ।
ह्याकिङसम्बन्धी घटनामा अनुसन्धान गर्दै आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कुनै पनि जानकारी नआएको ब्युरोका एसपी बेलबहादुर पाण्डेले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।