newskoseli.Com

नेकपामा भ्यागुताको धार्नी : विभाग र जनवर्गीय संगठन अझै अपूर्ण, पोलिटब्युरो गठनमा पनि अलमल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विभाग तथा जनवर्गीय संगठनहरुले लामो समयदेखि पूर्णता नपाउँदा ती लथालिंग बनेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ, २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला ‘कम्युनिस्ट’ पार्टीबीच एकीकरण भएको १८ महिना बित्दा समेत एकताका काम पूर्ण रूपमा टुंगो नलाग्दा उसका विभाग तथा जनवर्गीय संगठन निष्क्रिय बनेका हुन् ।

एकताका सबै काम एक साताभित्रैमा टुंगो लाग्ने र सबै विभाग तथा जनवर्गीय संगठन सक्रिय हुने नेकपाका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बताए । ‘एकताका सबै काम एक साताभित्रैमा टुंगो लगाएर देशैभर दुई चरणको अभियान सुरु गर्ने तयारी छ’– उनले भने । श्रेष्ठका अनुसार पहिलो चरणअन्तर्गत पार्टीका सदस्यलाई प्रशिक्षण दिइनेछ र दोस्रो चरणमा देशैभरि जागरण अभियान सञ्चालन हुनेछ ।

पार्टी एकतापछि नेकपाका जनसंगठनको कार्यक्रम शून्यजस्तै छ । सरकारका कतिपय राम्रा कामको जनस्तरसम्म राम्रोसँग प्रचारप्रसार समेत हुन नसकेकाले पनि सरकारको आलोचना भएको निष्कर्ष निकाल्दै नेकपाले तत्काल एकताका काम टुंग्याउने सोच बनाएको देखिन्छ । नेकपामा २२ वटा जनसंगठन र ३३ वटा केन्द्रीय विभाग छन् । पार्टी एकताको लामो समयपश्चात् पार्टीले यी संगठन र विभागको नेतृत्व टुंगो लगाएको भए तापनि तिनलाई पूर्णता दिन भने अझै सकेको छैन । नेताहरूको रुचि बाझिँदा संगठन र विभागले पूर्णता नपाएको हो ।

गठन हुन सकेन पोलिटब्युरो पनि…

नेकपाले अझैसम्म पनि पोलिटब्युरो कमिटी गठन गर्न सकेको छैन । नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको हो ।

नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी छ । पार्टीको अन्तरिम विधान अनुसार केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् १ सय ४७ जनासम्मको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । शीर्ष नेताबीच तत्कालीन एमालेलाई ८१ र तत्कालीन माओवादी केन्द्रलाई ६६ जना भागबन्डा गर्ने सहमति यसअघि नै भइसकेको खबर सुभाष साहको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर