सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै बीचमा खटपट सुरु भएको छ । पार्टी एकताका क्रममा भएको पाँचबुँदे सहमतिभन्दा अब नयाँ समझदारी गर्नुपर्ने ओलीको प्रस्ताव र कार्यकारी अधिकार प्रचण्डलाई दिन उनले देखाएको अनिच्छापछि दुई अध्यक्षबीच विवाद देखा परेको हो ।
‘असमझदारी केही बढ्न थालेको छ, प्रधानमन्त्रीमा विगतका सहमति–समझदारीमा अडिने सवालमा केही समस्या देखा पर्न थालेको छ,’ प्रचण्ड निकट स्थायी समितिका सदस्य हरिबोल गजुरेलले सोमबार भने– ‘पार्टीमा देखा पर्न थालेको असमझदारीका विषयमा उहाँहरू (ओली–प्रचण्ड) केही दिनयता छलफलमै हुनुहुन्छ ।’
ओली र दाहालबीच सोमबार मात्र्र पनि बिहान र साँझ गरी दुई पटक बालुवाटारमा भेटवार्ता भएको थियो । आइतबार पनि यी दुई नेताले छलफल गरेका थिए । दुई नेताबीच कार्यकारी अधिकार, सभामुख चयन, चिनियाँ प्रस्ताव ‘बीआरआई’ (बेल्ट एन्ड रोड इनिसियटिभ) र अमेरिकी रणनीति ‘इन्डो प्यासिफिक’ लाई बुझ्नेलगायतका विषयमा एकरुपता छैन ।
विवाद बढ्दै जाँदा अहिले एकले अर्को नेताले दिएका अभिव्यक्तिका विषयमा खण्डन गर्ने र तीखो आलोचनामा उत्रने समेत गर्न थालेका छन् । ओलीका अभिव्यक्तिमा प्रचण्डले र प्रचण्डका अभिव्यक्तिमा ओलीले सार्वजनिक टिप्पणी गर्न थालेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।