१७ चैत, २०५६ । रौतहटको जिविसमा आएका तत्कालीन वन राज्यमन्त्री मोहम्मद आफताब आलमका निकट महताव आलमसहितको एउटा समूहले सभापति रामचन्द्र राउतको कार्यकक्षबाट जयप्रकाश कौशललाई अपहरण गरे । त्यसका लागि उनीहरुले जिविस परिसरमा रहेको ना अ झ ४४१ नम्बरको सरकारी गाडी प्रयोग गरेका थिए ।
जाँचबुझका क्रममा उक्त गाडी जिल्ला वन कार्यालयको भन्ने पुष्टि भयो । एमाले कार्यकर्ता समेत रहेका कौशल अपहरणलगत्तै कुटपिटमा पर्छन् अनि उनलाई आलमका काका शेख जर्नेलको घरमा लगिन्छ । उल्टो पारेर ‘सिलिङ फ्यान’ मा झुन्ड्याइन्छ ।
व्यापक खोजतलासपछि त्यही दिन बेलुकी शेख जर्नेलको घरबाट कौशललाई प्रहरीले अपहरणमुक्त गराएको खबर दुर्गा खनाल र कृष्ण ज्ञवालीको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।