प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको ‘असंसदीय’ शब्द अझै हटाइएको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका ‘असंसदीय’ शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वैशाख २४ मा नीति तथा कार्यक्रममा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने बेलामा भनेका थिए– ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद, आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु ।’ सो भनाइपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई रेकर्डबाट हटाउनुपर्ने भन्दै नाराबाजी गरे पनि सभामुखले संसदको कारबाही अघि बढाएका थिए ।
नाराबाजीबीच नै नीति तथा कार्यक्रम पारित भएको थियो । सभामुख महराले तीन दिनपछि वैशाख २७ मा मात्र प्रधानमन्त्रीले बोलेको ‘असंसदीय’ शब्द हटाउन निर्देशन दिएका थिए । प्रतिपक्षी सांसदले पनि होलल्लाका क्रममा ‘असंसदीय’ शब्दको प्रयोग गरेका थिए ।
तर, संसदको रेकेर्डिङ शाखामा प्रतिपक्षीले होहल्ला गरेको रेकर्ड नसुनिएकाले उनीहरूले बोलेको ‘असंसदीय’ शब्द भने स्वतः हटेको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।