newskoseli.Com

महरामाथि मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो यस्ताे मिसिल

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘जबर्जस्ती करणी उद्योग’ मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।

प्रहरीले २० दिन लगाएर अनुसन्धान प्रतिवेदन तयार पारेको हो । महराले भने रोशनी शाहीमाथि बलात्कार प्रयास नगरेको बयान दिएका छन् । ‘म रोशनीको निवासमा गएको हुँ तर कोठामा प्रवेश गरिनँ; फोन गरें, उठाइनन्,’ महराले बयानमा भनेका छन्– ‘त्यसपछि फर्किएको हुँ ।’

प्रहरीले महरामाथि अर्को प्रश्न गरेका थिए– ‘तपाईंले झन्डै डेढ घन्टा बिताउनुभएको बयान तपाईंसँगै गएका अंगरक्षकले दिएका छन्, यसमा स्पष्ट खुलाइदिनोस् ।’ यसको जवाफमा महराले ‘फोन मात्रै गरेको र २०–२५ मिनेट कुरेर बसेको’ बताएका छन् । रोशनीले चश्माको टुक्रा र जुत्ताको तलुवा ‘महराकै हो’ भनेर प्रहरीमा उल्लेख गरेसँगै प्रहरीले यसबारे महरासँग प्रश्न गरेको थियो ।

जवाफमा उनले ‘ती वस्तु आफूलाई फसाउने षड्यन्त्रअनुरूप त्यहाँ राखेको’ बताएका छन् । उनी रोशनीको कोठामा पुगेर फर्किएपछि मदिराले लठ्ठिएका थिए । चश्मा लगाएर रोशनीको कोठामा पुगेका महरा चश्मा नलगाई फर्किएको बयान अंगरक्षकले दिएका छन् ।

प्रहरीले बयान प्रमाणित गरेसँगै एक अनलाइनलाई रोशनीले दिएको अन्तर्वार्तालाई पनि प्रमाणका रूपमा लिएको छ । ‘हामीले बलियो प्रमाणसहित सरकारी वकिल कार्यालयमा मिसिल बुझाएका छौं,’ स्रोतले भन्यो– ‘उहाँमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा चल्ने स्पष्ट प्रमाण छ ।’ महरा प्रकरणको पछिल्लो अपडेटसम्बन्धी यो खबर सुवास गोतामेको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर