नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो पार्टीका वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् ।
शेरबहादुर देउवाले कांग्रेसमा विश्वास जिते पनि कांग्रेस पार्टी फुटाउने उनै भएको आरोप कोइरालाले लगाएका छन् । डा. शेखरले भनेका छन्– ‘शेरबहादुरजीले कार्यकर्ताहरुकै विश्वास जित्नुभएको हो यद्यपि उहाँले कांग्रेस फुटाएकै हो, प्रजातन्त्र राजालाई बुझाएकै हो ।’
देउवाले पार्टीलाई एकढिक्का पार्न नसकेको भन्दै अब कोइराला परिवारले पार्टीको नेतृत्व पाउनुपर्ने उनले बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना मात्र बाँकी छँदा अघि सारेको केन्द्रीय विभागहरुको संख्या बढाउने प्रस्तावप्रति पनि कोइरालाले विरोध जनाएको कुरा आइतबारको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा प्रकाशित छ ।