
चीनमा ६७ वर्षीया एक महिलाले शुक्रबार छोरी जन्माएकी छन् । आमा र बच्चा दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ । झाओझुआङ सहरकी निवासी टियान नामकी ती महिलाले शल्यक्रियामार्फत स्थानीय प्रसूतिगृहमा स्वस्थ बच्चा सकुशल जन्माएकी हुन् ।
ती महिलाका पतिको उमेर ६८ वर्षको छ । नवजात शिशुलाई ‘ईश्वरको वरदान’ भन्दै दुबैले खुशी व्यक्त गरेका छन् । जिनान टाइम्सका अनुसार यस दम्पतीका यसअघि नै दुई सन्तान थिए । चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मै उनका पछिल्ला छोरा जन्मिएका थिए ।
सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ र अब भने दुई सन्तान जन्माउन पाइने व्यवस्था भएको छ । चीनमा पछिल्ला केही वर्षदेखि महिलाहरुले ढिलो गरी बच्चा जन्माउने वा बच्चा नै नजन्माउने प्रवृत्ति बढ्दै गएको छ । परिवारनियोजनका कडा नियमहरुका कारण पनि सानो परिवारप्रति धेरै व्यक्ति आकर्षित भइरहेको अध्ययनहरुले देखाएका छन् ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले यसै वर्ष प्रकाशन गरेको प्रतिवेदनमा सन् २००६ मा औसत चिनियाँ महिलाले २४ वर्षको उमेरमा बच्चा जन्माउने गरेकामा सन् २०१६ मा भने २७ वर्षमा मात्र पहिलो सन्तान जन्माउन थालेको उल्लेख छ । सन् २०१७ का करिव ५१ प्रतिशत नवजात शिशु दोस्रो सन्तान थिए जबकि सन् २०१६ मा करिव ४० प्रतिशतले मात्र दोस्रो सन्तान जन्माएका थिए ।