बन्दी प्रत्यक्षीकरणका छुट्टाछुट्टै निवेदन दिएका ‘ठूला’ जुवाडेहरुलाई तत्काल छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सबैको एकैसाथ म्याद तामेल गरेर हाजिर गराउन सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ ।
भाइटीकाको अघिल्लो दिन काठमाडौंको महाराजगञ्जबाट २ करोड ६७ लाख रुपैयाँसहित जुवाको खालबाट नियन्त्रणमा लिइएका २५ जनामध्ये १४ जनाले प्रहरीले गरेको पक्राउ गैरकानुनी रहेको भन्दै सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा उक्त आदेश आएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले विक्रम गौतमको घरमा चालिरहेको जुवा खालमा छापा मारी निर्माण व्यवसायी, ठेकेदार, व्यापारीलगायतका ‘ठूला’ जुवाडेहरुलाई पक्राउ गरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।