newskoseli.Com

‘कि मिर्गौला प्रत्यारोपण नत्र नियमित डाइलाइसिस’ : प्रधानमन्त्रीका स्वास्थ्य विकल्प

राजधानीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको डाइलाइसिस गरिएको छ । स्रोतका अनुसार सिंगापुरमा गरिएको प्रधानमन्त्रीको प्लाज्माफेरेसिसपश्चात पहिलो पटक डाइलाइसिस गरिएको हो ।

नियमित परीक्षणका लागि भन्दै बुधबार बिहानै अस्पताल गएका ओलीको रगतमा क्रियाटिनिन र पिसाबमा प्रोटिनको मात्रा बढेको देखिएपछि डाइलाइलासिस गरिएको थियो । मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले कि त मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने नत्र नियमित डाइलाइसिस गर्नुपर्ने अवस्था आएको छ ।

मिर्गौलाको डाइलाइसिस प्रक्रिया थालिएपछि नियमित रूपमा सातामा तीन पटक गर्नुपर्ने मिर्गौला रोग विशेषज्ञ बताउँछन् । एक पटक डाइलाइसिस गर्दा ४ घन्टा समय लाग्छ । मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेका अनुसार प्लाज्माफेरेसिस गरिसकेपश्चात डाइलाइसिस गर्नुले मिर्गौलाको अवस्था स्वस्थ नभएको देखिन्छ । उनले भने– ‘प्लाज्माफेरेसिस गरेको केही समयभित्रै डाइलाइसिस गर्नुपर्ने अवस्था आएको छ, यसले मिर्गौला ठीक नभएको संकेत गर्छ ।’

अस्पताल प्रशासनले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ‘सामान्य रहेको’ जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र नेफ्रोलोजी तथा ट्रान्स्प्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा.डा. दिव्यासिंह शाहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ‘सामान्य रहेको’ बताइएको हो ।

आवश्यक परीक्षण पूरा भएपछि बुधबार राति वा बिहीबारसम्ममा डिस्चार्ज गरिने अस्पतालले उल्लेख गरेको छ । अस्पताल स्रोतका अनुसार बुधबार बिहान प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगेका थिए । ११ वर्षअघि भारतको अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

१८ देखि २७ साउनसम्म प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार भएको थियो । उपचारका क्रममा ओलीको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ को मात्रा केही बढी देखिएको थियो । त्यस क्रममा ‘एन्टिबडी’ बन्ने प्रक्रिया रोकी बनेको ‘एन्टिबडी’ लाई शरीरबाट बाहिर निकालिएको खबर प्रशान्त वलीको बाइलाइनमा बिहीबारको राजधानी दैनिकमा प्रकाशित छ ।

थप यो पनि पढ्नुहोस्–
‘गोप्य’ रुपमा आईसीयूभित्रै प्रधानमन्त्रीको ‘डायलाइसिस’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर