सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेद्वारहरुको टुङ्गो लगाएको छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले कास्की– २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही क्षेत्रबाट निर्वाचित रवीन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनैकी श्रीमती विद्या भट्टराईलाई कास्की– २ को उम्मेदवारका रुपमा त्यही बेलादेखि नै चर्चा सुरु भएको थियो ।
त्यस्तै, प्रदेशसभा सदस्यका लागि दाङ– ३ (ख) मा विमला वली र भक्तपुर– १ (क) मा देवीप्रसाद (डीपी) ढकाललाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ । विमला वली सोही क्षेत्रबाट निर्वाचित भई मोटरसाइकल दुर्घटनामा निधन भएका उत्तरकुमार वलीको श्रीमती हुन् भने डीपी ढकाल उक्त पार्टीका भक्तपुर जिल्ला सचिव एवं अध्ययनशील लेखक तथा युवानेता हुन् ।
प्रवक्ता श्रेष्ठका अनुसार बाग्लुङ– २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय सो पार्टीले गरेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।