‘चालकले पटक–पटक गाडी बिग्रिएको बताउनुभएको थियो । दोलखाको मागादेउराली, बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा २ ख ७२४५ नम्बरको बस पहिलो पटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो । त्यहाँ बनाएर अगाडि बढेको बस अरु थुप्रै ठाउँमा पनि बिग्रियो । बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेकी थिएँ । मेरो बच्चा २ महिनाको मात्रै छ’– २४ वर्षीया घाइते यात्रु सरिता तामाङले भनिन् ।
धुलिखेल अस्पतालमा उपचाररत सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेका छन् । ‘शरीर चुर्लुम्म डुबेछ, झस्याङ्ग भएँ, दूध चुसिरहेको छोरो काखमा छैन, म पनि डुबिरहेकी पो रहेछु,’ सरिताले भनिन्– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेकी थिएँ । काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेकी भेटिएँ अनि मात्रै होस आयो ।’
‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो । मेरो छोरो हराइरहेको छ, धेरैबेर खोजें । छोरो खोज्न अरूले पनि सहयोग गर्नुभयो तर फेला परेन अनि मलाई अस्पताल ल्याइयो’– सरिताले भनिन् । आइतबार भएको सुकुटे बस दुर्घटनाको दुःखद कथा मोतिराम तिमल्सिनाको बाइलाइनमा सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।