दोलखाको सदरमुकाम चरिकोटस्थित कालिञ्चोक माविबाट भर्खरै एजुकेसन साइन्समा उत्कृष्ट अंकसहित १२ कक्षा सकेकी कविता राउतको लक्ष्य सरकारी जागिर खाएर अधिकृत बन्ने थियो । सरकारी जागिरका लागि तयारी कक्षा लिन र स्नातक तहको पढाइका लागि सानोठिमी क्याम्पस भक्तपुरमा भर्ना हुने लक्ष्यसहित काटाकुटीस्थित घरबाट आइतबार बिहान हाँसीखुसी बस चढेकी कविताको अधिकृत सपना सुकुटेमा डुबेको बससँगै सकिएको छ ।
आइतबार बिहान छोरीलाई हाँसीखुसी बिदा गरेकी कविताकी आमा अम्बिका राउत बस दुर्घटनामा छोरीको मृत्यु भएको खबर सुनेदेखि छिनछिनमा बेहोस् हुने गरेको बताउँदै मृतक कविताकी फुपू सरस्वती राउतले भिनिन्– ‘तर के गर्नु ! अब जति पीर गरे पनि हाम्री फूलजस्तै हँसिली नानी फिर्ता आउँदिनन् ।’
दुर्घटनामा मृत्यु भएका रिकेश खड्का ६४ वर्षीय हरिबहादुर खड्काका एक्ला छोरा हुन् । दुई वटा विवाहबाट समेत बालबच्चा नभएपछि तेस्रो विवाह गरेका हरिबहादुरका ५० वर्षको उमेरमा जन्मिएका एक्ला छोराको समेत दुर्घटनामा मृत्यु भएपछि उनी पाको उमेरमा अघात–पीडासहित छटपटाइरहेका छन् । आइतबार सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुवाहक बस दुर्घटनामा परी काटाकुटीका मात्र ९ जनाको मृत्यु भएपछि शोकमग्न काटाकुटी गाउँ सुनसान बनेको छ ।
‘गाउँका धेरै मानिस दुर्घटनास्थल सिन्धुपाल्चोक गएका छन् त्यसैले शोकमग्न यो गाउँ सुनसान जस्तै बनेको छ’– काटाकुटीका स्थानीय ६९ वर्षीय बिर्खबहादुर खत्रीले भनेको खबर चिरञ्जीवी मास्केको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।