प्रहरीले पक्राउ गरेको ६ दिनपछि निवर्तमन सभामुख कृष्णबहादुर महरा एकाएक बिरामी परे । श्वासप्रश्वासको समस्या देखियो । रक्तचाप उच्च भइदियो । मुटुको जाँच गराउनुपर्यो । उनी नर्भिक इन्टरनेसनल अस्पतालमा २५ दिन बसे ।
संघीय संसद् सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनी १९ असोजमा पक्राउ परेका थिए । उनी २३ असोजमा अस्पतालमा भर्ना भए । ‘अस्पतालको क्याबिनमा बसेर उहाँले उपचार गराउनुभएको हो’– अस्पतालका नायव महाप्रबन्धक आरपी मैनाली भन्छन् ।
यसअघि उनीजस्ता नेता एवं उच्च पदस्थ व्यक्ति (भीआईपी) हरु पनि हिरासत अवधिमा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा बसेका थिए । गोविन्दराज जोशी, चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, श्यामसुन्दर गुप्तालगायतका नेता अस्पताल भर्ना भएका थिए । उद्योगी प्रदीपजंग पाण्डे र पूर्वसहसचिव चूडामणी शर्मा पनि अभियोग लागेपछि अस्पतालमै बसेको खबर दिनेश गौतमको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।