newskoseli.Com

‘मैले त आफ्नो मोबाइल नम्बर नै बिर्सें’ : न्यायाधीशलाई आलमको जवाफ ! (बयान जस्ताकाे तस्तै)

न्यायाधीश – तपाईंको नामथर र वतन के हो ?
आलम – मेरो नाम मोहम्मद अफताब आलम हो । मेरो घर राजपुर हो ।
न्यायाधीश – वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम – त्यस बेलाको मोबाइल नम्बर मलाई सम्झना छैन ।
न्यायाधीश – तपाईंको जन्ममिति कति हो ? कति वर्षको हुनुभयो ?
आलम – म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भएँ ।
न्यायाधीश – तपाईंको स्थायी ठेगाना कहाँ हो ?
आलम – म राजपुर नगरपालिका– ४ मा बस्छु ।
न्यायाधीश – तपाईंले कुन विद्यालय र कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?
आलम – मैले बीएस्सीसम्म अध्ययन गरेको छु ।
न्यायाधीश – तपाईं के काम, पेसा, व्यवसाय गर्नुहुन्छ ?
आलम – मैले २०३६ सालदेखि राजनीति गरेको छु । मेरो अन्य पेसा–व्यवसाय छैन ।
न्यायाधीश – तपाईं र तपाईंको अंशबण्डा नभएका परिवारका सदस्यका नाममा के–कति चल–अचल सम्पत्ति छ ?
आलम – मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनको समेत नाममा जोडेर २२ बिघाजति जग्गा छ । चल सम्पत्ति खासै छैन ।
न्यायाधीश – तपाईंको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको यातना दिइएको छ कि छैन ?
आलम – मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको बिरामी हुँ । प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।
न्यायाधीश – तपाईंले कानुन व्यवसायी नियुक्त गर्नुभएको छ कि छैन ? छैन भने तपाईंले निःशुल्क रूपमा कानुनी सहायता पाउन सक्नुहुन्छ भन्ने जानकारी तपाईंलाई छ कि छैन ?
आलम – मैले आफ्नो कानुन व्यवसायी नियुक्त गरेको छु । उहाँहरूले नै मेरो पक्षमा मुद्दा लड्नुहुन्छ ।

०००              ०००                   ०००

हत्या आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमसँग जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार लिइएको बयान हो याे । उनीसँग बुधबार पनि बयान लिइने भएको छ । उनलाई बयानका लागि मंगलबार बिहान साढे १० बजेतिर अदालत लगिएको थियो । तर, सवा ३ बजे मात्रै बयान सुरु भएको थियो ।

आलमलाई साढे एक बजेतिर इजलासमा उपस्थित गराइए पनि उनको पक्षमा रहेका कानुन व्यवसायीले केही समय बयान रोकेका थिए । आलमसँग मंगलबार नौ वटा प्रश्न सोधिएको छ । त्यसपछि कार्यालय समय सकिएकाले बयान रोकिएको हो ।

आलम पक्षका कानुन व्यवसायीले मिसिलको फोटोकपी नपाएको भन्दै केहीबेर बयान रोकेका थिए । फोटोकपी वितरण भएपछि बयान थालिएको हो । बयान नसकिएकाले आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । आठ सयभन्दा बढी पृष्ठको मिसिल फोटोकपी गर्न समय लागेकाले वितरणमा ढिलाइ भएको सरकारी वकिल कार्यालयले जनाएको छ । आलमलाई ३२ वर्ष कैद माग गर्दै सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा २ वर्ष कैद माग गरेर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले ३९ पृष्ठको अभियोगपत्र तथा ८ सय ७८ पृष्ठको मिसिल दर्ता गरेको थियो ।

२०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा असोज २६ मा आलम पक्राउ परेको खबर फणि महतको बाइलाइनमा बुधबारको अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर