newskoseli.Com

को–को हट्दै, को–को थपिँदै ? मन्त्रिपरिषद् पुनर्गठनको तयारी…

सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका छन् ।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक बोलाएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बतायो । स्रोतका अनुसार कम्तिमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू समेत फेरबदलको संकेत गरेको स्रोत बताउँछ ।

सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र आफू त्यसको तयारीमा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागी थिए । उनीहरूबीच झन्डै तीन घन्टा छलफल भएको थियो ।

ओली ३ फागुन, २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा ओलीले योगेश भट्टराईलाई नियुक्त गरे । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा आएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ल्याइएको थियो । यसबाहेक ओलीले २० महिनामा कुनै पनि मन्त्री हेरफेर गरेनन् ।

काे–काे हट्दै, काे–काे थपिँदै ?

केही नयाँ मन्त्री ल्याउने र केही हटाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । ‘चाँडै मन्त्रिपरिषदमा हेरफेर हुँदैछ,’ उच्च स्रोतले भन्यो– ‘दुई अध्यक्षबीच पात्रका विषयमा समेत छलफल भएको छ ।’ स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनको स्थानमा प्रभु शाहलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । महिला, बालबालिकामन्त्री थममाया थापालाई हटाएर उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने विषयमा छलफल भएको छ । त्यसैगरी, तीन पटक संसदीय चुनाव जितेका वसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड सहमत भएको स्रोतले बताएको छ । अन्य मन्त्रीका विषयमा पनि छलफल भएको स्रोतको दाबी छ ।

नेकपाले सोमबार सचिवालय बैठक बोलाएको छ । पार्टीको संगठनात्मक एकता मुख्य एजेन्डा रहेको सचिवालय सदस्यहरूलाई जानकारी गराइएको छ । ‘मन्त्रिपरिषद् पुनर्गठनका विषयमा खासै जानकारी छैन, त्यो प्रधानमन्त्रीको स्वविवेकको कुरा हो,’ प्रवक्ता नारायाणकाजी श्रेष्ठले भने– ‘सोमबार बिहान सचिवालय बैठक बोलाइएको छ, बैठकमा संगठनात्मक एकताको विषयलाई मुख्य एजेन्डा बनाइएको जानकारी हामीलाई गराइएको छ ।’

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नेकपामा सघन छलफल सुरु भएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

कालापानी बचाउन युवा–विद्यार्थी सडकमा : भारतीय दूतावासमा प्रदर्शन (भिडियाे)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर