सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् । विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मञ्जुरीविना एसएमएस र इमेलबाट समेत विज्ञापन गर्न नपाइने प्रावधान राखेको छ ।
यसले मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले एसएमएसबाट भोट माग्ने प्रथा बसेको थियो । तर, यस ऐनले व्यापारिक प्रवर्द्धनका लागि सामूहिक एसएमएस र इमेल पठाइने बढ्दो प्रचलनलाई रोक लगाएको छ ।
यद्यपि, अहिले प्रचलनमा रहेको सामाजिक सञ्जालबाट हुने विज्ञापनका विषयमा भने यो विधेयक मौन रहेको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।