प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसका निम्ति उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाह आवश्यक कागजातसहित २४ गते आइतबार टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छन् ।
विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे परामर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को मिर्गौला राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ ।
पुँजी विकास, वचत तथा सहकारी न्यूरोडका अध्यक्ष तथा नेकपाका कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक, हाल बौद्ध निवासी) ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उनको शरीरमा ४ वटा किड्नी छन् । सिंगापुरमा मिर्गौला प्रत्यारोपणसम्बन्धी कानुनी जटिलता रहेका कारण त्यहाँको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि कि बैंकक नत्र दिल्ली नै जानुपर्ने अवस्था छ ।
अगस्ट ३१ मा नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिले भारतमा भएका कारण स्वाथ्यसम्बन्धी विवरण पनि उतै भएको हुनाले सबै व्यवस्था मिलाउँछौं’ भनी आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश प्रधानमन्त्री ओलीलाई सुनाएका थिए । अघिल्लो महिना नेपाल आएका चिनियाँ राष्ट्रपति सि जिनपिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका निम्ति स्वागत गर्न तयार रहेको बताएको स्रोतको दावी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ठ विकल्प हुने ठानिएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।