प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा ‘आमूल परिवर्तन’ ल्याउन लागेका छन् । आफ्नो वरिपरि ‘केही विदेशी सुराकीहरु’ रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकारहरु बदल्ने निर्णय लिएको बुझिएको छ ।
प्रधानमन्त्रीले विशेषगरी पश्चिमा मुलुकका ‘सुराकी’ हरु ज्यादा रहेको महशुस गरेको बताइन्छ । भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नो वरिवरि विदेशीको सुराकी भएको सङ्केत पाएका हुन् । कार्यक्षमता र कार्यशैली समेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि ‘केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको’ आरोप समेत सत्तारुढ पार्टी भित्रबाटै लाग्न थालेको थियो ।
ओलीको लोकप्रियतामा ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय र सल्लाहकार टोली नै जिम्मेवार रहेको ठानिन्छ । त्यसैले गतसाता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार र सचिवालयका सदस्यहरुले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीको वरिपरि रही हालै राजीनामा दिनेनहरुमा ट्रेड युनियनका नेता विष्णु रिमाल, सञ्चारविद् डा. कुन्दन अर्याल, डा. राजन भट्टराई, रामशरण बजगाईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अली रहेको खबर बुधबारको घटना र विचार साप्ताहिकमा प्रकाशित छ ।