newskoseli.Com

वामदेवलाई उपप्रधानमन्त्री बन्न ‘अफर’ : राष्ट्रियसभा सदस्य बन्न प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सामेल गर्न राष्ट्रियसभामा लैजाने प्रस्ताव गरेका छन् । ओलीबाट गौतमलाई यस्तो ‘अफर’ आए पनि यसअघि प्रस्तावित उपाध्यक्ष पदलाई भने स्थायी समितिले अझै अनुमोदन गरेको छैन ।

मन्त्रिपरिषद् पुनर्गठनको विषय चर्चामा रहेका बेला नेता गौतमलाई राष्ट्रियसभामार्फत सांसद बनाएर उपप्रधानमन्त्रीका रूपमा भित्र्याउन खोजिएको बालुवाटार स्रोतले बताएको छ । एक नेताका अनुसार प्रधानमन्त्री ओलीले गौतमलाई यस्तो प्रस्ताव गर्नुअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छलफल गरेका थिए  । ‘दुई अध्यक्षबीचको छलफलपछि यस्तो प्रस्ताव आएको हो,’ गौतम निकट ती नेताले भने– ‘राष्ट्रियसभामा पुगेपछि सरकारमा जाने बाटो खुल्छ  ।’

तर, गौतमले संविधान संशोधन गरेरै भए पनि आफूलाई प्रधानमन्त्री बन्न समेत सहज हुने बाटो बनाइदिन आग्रह गरेका छन्  । ‘नेता गौतमले संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने भए मात्र आफू राष्ट्रियसभामा आउने बताउनुभएको छ’– ती नेताले भने । ‘राष्ट्रियसभाबाट आउँदा प्रधानमन्त्री बन्न मिल्ने प्रावधान छैन, पटक–पटक उपप्रधानमन्त्री भइसकें, मलाई संसदमा ल्याउने हो भने संविधान संशोधन गरेर प्रधानमन्त्री हुने बाटो खोलिदिनोस्’– गौतमको भनाइ उद्धृत गर्दै उनले भने  ।

०७६ माघमा राष्ट्रियसभाका एकतिहाई सांसदको कार्यकाल सकिँदैछ । त्यसपछि त्यहाँ एकतिहाई सदस्य पठाउन निर्वाचन हुनेछ  । त्यतिखेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सम्भव हुनेछ  । तर, संविधानको धारा ७७ ले प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने परिकल्पना गरेको खबर बबिता शर्माबिनु सुवेदीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर