नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीलाई राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको सिफारिस गरे पनि सरकारले भने अहिलेसम्म हत्यामा संलग्नहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छैन ।
‘इन्काउन्टर’ मा पौडेल मारिएको दाबी प्रहरीले गरिरहेका बेला राष्ट्रिय मानअधिकार आयोगले भने उनलाई नियन्त्रणमा लिएर हत्या गरेको ठहर गर्दै हत्यामा संलग्नहरूलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो । आयोगले कात्तिक ४ मा छानबिन (अध्ययन)प्रतिवेदन सार्वजनिक गर्दै कात्तिक ५ मा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो ।
आयोगले बोधार्थ किटान गरेर प्रतिवेदनसहितको फाइल पठाए पनि दोषीमाथि कारबाहीका लागि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन । प्रतिवेदन पत्र प्राप्त भए पनि कारबाही प्रक्रिया अघि नबढेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित मानवअधिकार महाशाखाका सहसचिव कुशलचन्द्र सुवेदीले बताए ।
‘हामीकहाँ प्रतिवेदन प्राप्त भएको छ, यसबारे कारबाही प्रक्रिया अघि बढाउँछौं,’ उनले भने– ‘यदि हामीसँग सम्बन्धित रहेछ भने यहींबाटै कारबाही हुन्छ, नत्र कारबाहीका लागि सम्बन्धित निकायमा पठाउँछौं ।’ लोकतान्त्रिक गणतन्त्र र कम्युनिस्ट सरकार बहाल रहेको भनिएकै अवस्थामा भिन्न राजनीतिक आस्था राखेको आधारमा दिनदहाडै राज्यका निकायले गरेको मानवहत्यासम्बन्धी एक घटनाको पछिल्लो अपडेटसम्बन्धी यो खबर शिवहरि घिमिरेको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।