newskoseli.Com

ओली–प्रचण्ड ‘कार्यविभाजन’ : राष्ट्रपति भण्डारी ‘सहजकर्ता र साक्षी’ !

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको फाइल तस्बिर

एकीकरणको १८ महिनापछि सत्ताधारी नेकपाले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच स्पष्ट कार्यविभाजन गरेको छ  । बुधबार बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले अध्यक्षद्वयको जिम्मेवारी बाँडफाँट गरेको हो  ।

नेकपाको नयाँ निर्णयसँगै हालको संसदको बाँकी अवधि सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्नेछन् भने प्रचण्ड पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा हुनेछन्  । सचिवालयको यो निर्णयले पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने विगतको समझदारी प्रतिस्थापन गरेको छ  । ‘अब अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारका काममा केन्द्रित हुनुहुनेछ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने– ‘अध्यक्षद्वयको वरीयताक्रम भने यथावत् रहनेछ  ।’

सहमतिअनुसार दाहाल पार्टीको आगामी महाधिवेशनसम्म कार्यकारी अधिकारसहित पार्टी अध्यक्ष हुनेछन्  । ‘पार्टी बैठकहरूमा अध्यक्षद्वयले संयुक्त रूपमा अध्यक्षता गर्नुहुनेछ तर आम रूपमा अध्यक्षता र सञ्चालन प्रचण्डले नै गर्नु हुनेछ’– प्रवक्ता श्रेष्ठले भने ।

राष्ट्रपति भण्डारी ‘सहजकर्ता र साक्षी’ !

ओली र प्रचण्डबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो ? जानकार स्रोतहरू यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका रहेकोतर्फ औंल्याउँछन्  । ‘ओली र प्रचण्डले बुधबार राष्ट्रपति भण्डारीको उपस्थितिमा आफ्नो कार्यविभाजनसम्बन्धी सहमति गर्नुभएको हो’– घटनाक्रमका जानकार नेकपाका एक नेताले भने  ।

एक्लाएक्लै गरिएका विगतका समझदारी कार्यान्वयनमा ओलीले उदासीनता देखाएपछि प्रचण्डले भरपर्दो ‘साक्षी’ खोजेका थिए  । लगत्तै उनीहरूले राष्ट्रपति भण्डारीलाई भेटेर सहमति गरे  । वामदेव गौतमलाई उपाध्यक्षमा प्रस्ताव गर्ने निर्णय पनि राष्ट्रपतिकै ‘सक्रियता’ मा भएको थियो  । दुई सातायता प्रचण्ड र ओलीबीच फेरि कार्यविभाजनबारे छलफल भए पनि टुंगोमा पुग्न सकेका थिएनन्  ।

बुधबार बिहान मन्त्रिपरिषद् गठनबारे निर्णय गर्न जुटेका दाहाल र ओलीको छलफल आफूहरूकै कार्यविभाजनमा पुगेर अड्किएको थियो  । ‘दाहाल पहिले आफूहरूको कार्यविभाजन सकेर मन्त्रिपरिषद् गठनको एजेन्डामा प्रवेश गर्न चाहनुहुन्थ्यो भने ओली सबै विषय सकेपछि मात्रै आफूहरूको टुंगो लगाऔं भन्नुहुन्थ्यो’– नेकपाका ती नेताले भने  ।

यही विवाद नसल्टिएपछि उनीहरू फेरि पुरानो ‘साक्षी’ खोज्दै बुधबार बिहान राष्ट्रपतिलाई भेट्न गएको स्रोतको दाबी छ  । संवैधानिक राष्ट्रपतिको दलीय राजनीतिप्रति देखिएको यो अभिरुचिलाई लिएर बुधबार दिउँसैदेखि टीकाटिप्पणी समेत भइरहेको खबर बिनु सुवेदीको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर