आकांक्षीको चर्को ‘प्रेसर’ का कारण मन्त्रिपरिषद पुनर्गठनको सूचना प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्न नै सकेन । त्यकारण बुधबार राति अबेर मात्रै राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद पुनर्गठनको सूचना निकाल्नु परेको प्रधानमन्त्री ओलीको निजी सचिवालयका एक सदस्यले बताए ।
उक्त सूचनाले नवनियुक्त मन्त्रीहरू छक्क परेजस्तै अत्याधिक चर्चा भएर पनि समेटिन नसकेका नेताहरु खङरङ्ग परेका थिए । तीनैमध्येका हुन् प्रभु साह । मातृका यादव बाहिरिने निश्चित भएपछि अध्यक्ष प्रचण्डले साहलाई मातृकाको ठाउँमा पठाउने बताएका थिए । सूची सार्वजनिक भएसँगै पूर्वमाओवादीका देवेन्द्र पौडेल, पम्फा भुषाललगायतका नेता पनि अचम्ममा परे ।
तर, वसन्तकुमार नेम्बाङ र हृदयेश त्रिपाठीले भने ‘सरप्राइज’ पाए । सांसद नेम्बाङ उपनिर्वाचनको प्रचारप्रसारका लागि पाँचथरमा थिए । केही दिन उतै बस्ने उनको योजना थियो । उनको मोबाइलमा बुधबार साँझ प्रधानमन्त्री कार्यालयबाट घन्टी बज्यो । फोन गर्नेले भने– ‘भोलि बिहीबार ११ बजे सपथ छ, आउनुहोला ।’ अनि उनी रातारात त्यहाँबाट काठमाडौं हिँडे । नेम्बाङ मन्त्री बन्दैछन् भन्ने चर्चा नेकपा वृत्तमा भए पनि स्वयं उनलाई भने पटक्कै विश्वास थिएन ।
त्यस्तै, नेकपाको चुनावचिह्न लिएर नवलपरासी– १ बाट विजयी भएका स्वतन्त्र सांसद हृदयेश त्रिपाठी पछिल्लो समय नेकपासँग असन्तुष्ट थिए । दुई अध्यक्षसँग आफ्नो भूमिकाको बारेमा उनले लामो समयदेखि कुराकानी समेत गर्दै आएका थिए । तर, उनलाई ‘अहिले नै मन्त्री बनिन्छ’ जस्तो लागेको थिएन । यी दुई मन्त्री ‘सरप्राइज’ मा परेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।