सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको उनले स्पष्ट पारे ।
‘मलाई प्रधानमन्त्री हुने हतारो छैन, देशमा स्थिरता हुनुपर्यो, स्थायित्व हुनुपर्यो , विकास निर्माणले गति लिनुपर्यो,’ खुमलटारस्थित निवासमा शुक्रबार अन्तर्वार्ता दिँदै उनले भने– ‘म पार्टी अध्यक्षका हैसियतले देशको स्थायित्व र जनताको भलाइका निम्ति सक्रिय भूमिका खेल्छु ।’
आफू र अर्का अध्यक्ष केपी शर्मा ओलीबीच स्पष्टसँग अधिकार बाँडफाँट गरिएपछि सबै भ्रमहरूको अन्त्य भएको पनि अध्यक्ष दाहालले उल्लेख गरे । ‘एउटा अध्यक्ष फुर्सदिलो जस्तो, कता–कता हिँडिरहेजस्तो, अर्को अध्यक्षले बैठक पनि गरेको छ, प्रधानमन्त्री पनि छ, काम पनि ओभरलोडजस्तो भन्ने फिलिङ पार्टी पंक्तिलाई थियो,’ उनले भने– ‘अध्यक्षहरूकै बीचमा छलफल हुँदा पनि त्यो भाव झल्किन्थ्यो । अब त्यो स्थितिको अन्त्य भयो, दुवै अध्यक्ष कार्यकारी भूमिकासहितका भयौं ।’
दुवै अध्यक्षको कार्यकारी भूमिका स्पष्ट पार्ने हालैको निर्णयले सरकार र पार्टी सञ्चालनमा सहज हुने उनको भनाइ थियो । तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएयताको डेढ वर्ष आफूलाई ‘सेरेमोनियल अध्यक्ष’ भएजस्तो महसुस भएको अनुभूति पनि उनले सुनाए । ‘गएको डेढ वर्षमा मलाई कार्यकारीजस्तो फिल भएन,’ उनले भने– ‘मलाई कार्यकारीका रूपमा काम गर्न त्यति सहज वातावरण थिएन , अबचाहिँ सहज भयो, दुवै अध्यक्षलाई आफू कार्यकारी भएको फिलिङ आयो ।’
‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ पुरानो सहमतिलाई पार्टी सचिवालयको बुधबारको निर्णयले प्रतिस्थापन गरेको प्रचण्डको भनाइ छ । ‘यो निर्णयले गतवर्ष जेठ २ गते भएको सहमतिलाई प्रतिस्थापित गर्यो, अब केही कन्फ्युजन आउँदैन’– उनले स्पष्ट पारेको खबर आइतबार प्रकाशित हुने अन्तर्वार्ताको ‘ब्रिफिङ’ का रूपमा बिनु सुवेदीको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।