एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
तत्कालीन कार्यालय प्रमुख आनन्दकेशरी पोखरेल, हाल अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) नवराज थापा, शाखा अधिकृतहरू राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल उपसचिव), बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालयले २०६९ वैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परीक्षामा अनुत्तीर्णलाई पनि उत्तीर्ण गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको खबर सोमबारका पत्रपत्रिकाले प्रकाशित गरेका छन् ।