कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमणबारे छलफल गर्न नेपालले राखेको प्रस्तावमा भारतले जवाफ नदिँदा द्विपक्षीय उच्चस्तरीय संयन्त्रको बैठक तय हुन सकेको छैन ।
नेपाली भूमि अतिक्रमणप्रति नेपाल सरकारले विरोध जनाउँदै गतसाता भारतलाई ‘कूटनीतिक नोट’ पठाएर परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय संयन्त्रको बैठक प्रस्ताव गरेको थियो । तर, भारतले अहिलेसम्म जवाफ नदिएकाले द्विपक्षीय बैठक अनिश्चित बनेको छ ।
‘हामीले कूटनीतिक नोट बुझाउँदै तत्काल बैठक बस्न भारतीय पक्षसँग आग्रह गरेका छौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो– ‘हाम्रा तर्फबाट कूटनीतिक नोट बुझाउँदै तत्काल सीमा विवादसम्बन्धी उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन प्रस्ताव गरिएको छ । भारतीय पक्षले यसबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन ।’ भारतीय अतिक्रमणबारेको पछिल्लो अपडेट समाचार बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।