प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ । यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनुपरेको हो ।
प्लेटलेट्स रगतमा रहने एक प्रकारको कोषिका हो, जसले घाउ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्छ । साथै, क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको जनाएका छन् ।
एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि गत मंगलबार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । संक्रमण नियन्त्रणमा राख्न हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) प्रयोग गरिएको छ । सेकेन्डरी इन्फेक्सन (थप संक्रमण) को जोखिम कायमै रहेकाले उच्च चिकित्सकीय सतर्कता अपनाइएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।