newskoseli.Com

प्रचण्डले तयार पारे नेकपाको ६ महिने कार्ययोजना : के–कस्ता विषय समेटिँदै ?

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी कामको ६ महिने रूपरेखा तयार पारेका छन् । यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालयको बैठकमा पेस गर्ने उनको तयारी छ । उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताए । ‘प्रधानमन्त्री यो सचिवालय बैठकमा सहभागी नहुन सक्नुहुन्छ’– महासचिव पौडेलले भने । ४ मंसिरको सचिवालय बैठकले ‘कार्यकारी’ अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेताहरूसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रूपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए । ‘उहाँ (प्रचण्ड) ले वैचारिक–राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव र जनपरिचालनसम्बन्धी प्रस्ताव समेटेर पार्टीको ६ महिने कार्ययोजनाको संक्षिप्त रूपरेखा लिखित रुपमा तयार पार्नुभएको छ’– सापकोटाले भने ।

प्रचण्डले पहिलो पटक पार्टीको कार्ययोजना प्रस्ताव पेस गर्न लागेका हुन् । यसअघि उनीसहित ओलीले गतवर्ष स्थायी समिति बैठकमा संयुक्त रूपमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यसबारे छलफल भए पनि कार्यायोजना भने संगठनात्मक एकतामा ढिलाइका कारण अलपत्र परेको थियो । गतवर्ष मंसिर २९ देखि पुस १३ सम्म स्थायी समितिको बैठक बसेको थियो । त्यसयता स्थायी समिति बसेको छैन । केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एक पटक मात्र बसेको छ ।

प्रचण्डले आफ्नो प्रस्तावबारे अर्का अध्यक्ष ओली र महासचिव पौडेलसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए । खुमलटारस्थित निवासमा बिहान पनि महासचिव पौडेल, ऊर्जामन्त्री वर्षमान पुन, देवेन्द्र पौडेललगायतका नेतासँग प्रचण्डले कुराकानी गरेका थिए । ‘सोमबारको सचिवालय बैठकमा संगठन विभागले पेस गरेको प्रस्ताव, स्थायी समिति बैठक बोलाउने गरी मिति निर्धारण गर्नेदेखिका प्रस्तावमा छलफल हुन्छ’– प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

प्रचण्डको प्रस्तावमा तीन महिनामा पार्टी सदस्यता नवीकरण गरी केन्द्रमा अभिलेखीकरण गर्नेलगायतका विषय समेटिएका छन् । ‘केन्द्रीय विभागहरु र जनवर्गीय संगठनमा नेतृत्व मात्र चयन भएका छन्, ती सबै कमिटीलाई पूर्णता दिने, वैचारिक–राजनीतिक काम तल्लो तहसम्म एकैसाथ लैजाने, प्रशिक्षणदेखि संगठनात्मक काम, बैठक–भेलाका काम गर्नुपर्नेछ,’ नेता सापकोटाले भने– ‘जनपरिचालनका काम पनि गर्नु पर्नेछ, यी विषय अध्यक्षको प्रस्तावमा समेटिन्छन् ।’

मंसिर अन्तिममा स्थायी समिति बैठक र त्यसलगत्तै केन्द्रीय समितिको बैठक बोलाउने अनि माघ–फागुनमा दुई महिने विशेष राजनीतिक अभियान चलाउने योजना पनि प्रस्तावमा समेटिएको अर्का एक नेताले बताए । पार्टी एकताको सन्देश जनतामाझ पुर्‍याउने, पार्टी र सरकारको नीति तथा योजनालाई सार्वजनिक रूपमा स्थापित गर्ने र जनतालाई पार्टीमा गोलबद्ध गर्न दुई महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने प्रचण्डको प्रस्ताव छ ।

वैचारिक र भावनात्मक एकतालाई खँदिलो बनाएर जाने गरी प्रशिक्षणका कार्यक्रम प्रचण्डले कार्यायोजनामा समेटेका छन् । केन्द्रीय निकाय, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटीलाई पूर्णता दिने, जनवर्गीय संगठनको केन्द्रदेखि स्थानीय तहसम्मका काम, पार्टी सदस्यता अध्यावधिक र एकीकृत अभिलेख राख्नेदेखि पार्टीका चल–अचल सम्पत्ति केन्द्रीकरण गर्नेसम्मका योजना प्रचण्डको प्रस्तावमा समेटिँदैछन् ।

पार्टी स्कुल पाठ्यक्रम तयार पारी सञ्चालन गर्नेदेखि प्रभावकारी प्रचार कार्यसम्मका योजना प्रचण्डले तयार पारेको प्रस्तावमा समेटिएको उनीनिकट स्रोतले बताएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर