newskoseli.Com

‘संसदभित्रै यौनहिंसा भयो’ : सांसदहरुकै गुनासो

‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर हिंसामा परें भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’

गण्डकी प्रदेशसभा सदस्य (सांसद) पुष्पा केसी भण्डारीले तेर्स्याएका प्रश्न हुन् यी । संसदभित्रै आफूहरुमाथि यौनहिंसा भएको उनले बताइन् । ‘पुरुष सांसदबाट संसदभित्रै हामीमाथि यौनहिंसा भएको छ,’ उनले भनिन्– ‘तर इज्जतको डरले सहन बाध्य छौं ।’

पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दावी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनुपर्छ ?’ उनले सोधिन् ।

पढेलेखेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद् भवनभित्रै भैरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेकामा उनले गुनासो गरिन् । ‘हामी महिला–पुरुष सबैसँग हात मिलाउँछौं,’ लैंगिकताको सवालमा संसदीय निगरानी विषयमा सोमबार आयोजित कार्यशालामा उनले भनिन्– ‘हामी उनीहरुलाई सम्मान गर्छौं, सम्मानस्वरुप हात मिलाउने बानी छ । मैले मात्र होइन, सबै महिला साथीले पुरुषसँग हात मिलाउनुहुन्छ तर उनीहरुले सम्मान र अभिवादनका लागि हात मिलाएका हुँदैनन् ।’

शिक्षित महिला पनि यौनहिंसाबाट पीडित बन्नुपरेको उनले बताइन् । ‘यो उमेरमा, यो अवस्थामा आउँदा पनि किन यस्तो ?’ भावुक बन्दै उनले प्रश्न गरिन्– ‘अनावश्यक मान्छे, विनाकाम हामीलाई छुन आउँछन् । हामीलाई किन छुने भन्ने मेरो जिज्ञासा हो ? हिंसा भएको अनुभव हामीले राम्रैसँग गरेका छौं तर भन्नु भएन, भन्नै परे पनि कोसँग, कहाँ गएर भन्ने ? मौन बस्नुको अर्को कुनै विकल्प छैन ।’

बोल्ने क्रममा पनि पुरुष सांसदहरुले जिस्किएर, हिंसात्मक रुपमा प्रस्तुत हुने गरेको अरु महिला सांसदहरुले पनि गुनासो गरे । ‘पुरुष सांसद हामीसँग बोल्दा सांसदको हैसियतभन्दा फरक ढंगले बोल्छन्,’ अर्की सांसद भन्छिन्– ‘हिँड्दा ठोक्किँदै हिँड्छन्, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’

यौनहिंसाविरुद्ध खुलेर सदनमै बोल्नुपर्ने बेला आएको उनले बताएको खबर प्रतीक्षा काफ्लेको बाइलाइनमा मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर