newskoseli.Com

‘स्मार्ट’ प्रधानमन्त्रीको बेढंगे पारा : ‘पदक जित्दाको खुशी निराशामा परिणत…’

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पुरस्कार घोषणा गरे । प्रधानमन्त्री निवास बालुवाटारमा सागका पदक विजेतालाई प्रधानमन्त्री ओलीले दिएको सम्मान कार्यक्रममा नै उनले पुरस्कारको समेत घोषणा गरेका हुन् ।

यसअनुसार स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख र एकभन्दा बढी स्वर्ण पदक जित्नेलाई ११ लाख प्रदान गरिनेछ । यसबमोजिम पौडीकी गौरिका सिंह (४ स्वर्ण), तेक्वान्दोकी आयशा शाक्य (२ स्वर्ण) र कराँतेका मन्डेकाजी श्रेष्ठ (२ स्वर्ण) ले ११–११ लाख रुपैयाँ पाउने भएका छन् ।

व्यक्तिगत प्रतिस्पर्धामा रजत पदक जित्नेलाई ६ लाख र काँस्य पदक विजेतालाई ३ लाख रुपैयाँ नगद पुरस्कार दिइने भएको छ । यसअघि सरकारले सागमा स्वर्ण, रजत र काँस्य जित्नेलाई क्रमशः ५, ३ र २ लाख रुपैयाँ प्रदान गर्दै आएको थियो । सरकारले खेलाडीलाई प्रोत्साहनस्वरूप दिने पुरस्कार सकारात्मक भएको खेलकर्मीले बताएका छन् ।

यसपटक सरकारले पुरस्कार रकम ह्वात्तै बढाइदिएको अवस्थामा खेलाडी अझ प्रोत्साहित हुने आशा गरिएको छ । पुरस्कार बराबरी नगरेकामा सागको पुरुष बास्केटबलको काँस्य पदक विजेता टिमका कप्तान सदिश प्रधानले दुःख प्रकट गरे । प्रधानले प्रश्न गरे– ‘पहिलो पटक सागमा बास्केटबलले पदक जित्दा पनि कुनै सम्बोधन नहुने कस्तो प्याकेज हो ?’

‘हामीले प्रधानमन्त्री निवासमा दुई घन्टा कुर्‍यौं, अन्तिममा टिम खेलका स्वर्ण विजेताको पुरस्कार रकम घोषणा भयो तर रजत र काँस्यका लागि कुनै घोषणा नहुँदा निकै नमज्जा लाग्यो,’ प्रधानले भने– ‘पदक जित्दा जति खुशी लागेको थियो, प्रधानमन्त्रीले बास्केटबललाई कुनै सम्बोधन नगरेकामा त्यति नै निराशा भयो ।’ प्रधानले थपे– ‘रकम पाउनुपर्छ भन्ने होइन, रजत र काँस्य जित्ने टिम खेललाई पनि सम्मान गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

हरेक विषय र क्षेत्रमा आफू नै सबैभन्दा बढ्ता जान्ने जस्तो गरी ‘स्मार्ट’ बन्न तम्सने प्रधानमन्त्री केपी शर्मा ओलीले असाध्यै गम्भीर विषयमा बुधबार देखाएको हद दर्जाको बेढंगे पारासम्बन्धी यो खबर फिरोज राजोपाध्यायको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर