newskoseli.Com

प्रचण्डको ‘एकान्तवास’ : स्थायी समितिमा पेस गर्ने दस्तावेजको यस्ताे छ तयारी

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार सुरु हुने भनिएको स्थायी समितिको बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्तावेजको तयारीमा जुटेका छन् । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्तावेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली र नेकपाका सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

प्रत्येक तीन महिनामा बस्ने भनिए पनि शीर्ष नेताबीचकै विवाद नमिल्दा एक वर्षदेखि नेकपाको स्थायी समितिको बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समितिको बैठक बस्न लागे को हो ।

स्पष्ट काम र समयतालिकासहितको ६ महिने कार्ययोजना ल्याउन मंसिर २३ को सचिवालय बैठकले प्रचण्डलाई निर्देशन दिएको थियो । त्यसपछि उनले सबै सचिवालय सदस्य र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै परामर्श गरेपछि प्रतिवेदन लेख्न थालेका हुन् । ‘उहाँ (प्रचण्ड) बिहानैदेखि भेटघाट बन्द गरेर कार्ययोजना लेखनमा व्यस्त हुनुहुन्छ,’ प्रचण्डको सचिवालयका एक सदस्यले बिहीबार साँझ भने– ‘दुइटा विषयको प्रस्ताव तयार भइसकेको छ ।’ शुक्रबार साँझसम्म कार्ययोजना तयार पार्ने लक्ष्य रहेको पनि उनले सुनाए ।

स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजना पारित गर्नका लागि प्रचण्डले शुक्रबार सचिवालयको बैठक बोलाएका थिए । तर, कार्ययोजनै तयार नभएपछि सचिवालय बैठक सरेको छ । महासचिव विष्णु पौडेलका अनुसार सचिवालय बैठक शनिबार हुनेछ । अध्यक्ष प्रचण्डले तयार पारेको प्रस्तावित कार्ययोजना अर्का अध्यक्ष ओलीलाई देखाएर परिमार्जन गरिसकेपछि मात्र स्थायी समितिको बैठकमा पेस गरिने भएको छ ।

अध्यक्ष प्रचण्ड नयाँ सभामुख बनाउने विषयमा पनि सचिवालय बैठकमा प्रस्ताव पेस गर्ने तयारीमा छन् । दुई अध्यक्षबीच भएको भेटमा सभामुखबारे सहमति जुटिनसकेकाले पनि प्रचण्डले सचिवालयको बैठक सारेको स्रोतको भनाइ छ । ओली र प्रचण्डबीच बुधबार भएको भेटमा कस्ता–कस्ता विषय समेटर कार्ययोजना बनाउने भन्नेबारे छलफल भएको थियो । छलफलमा ओलीले ‘तपाईं प्रस्ताव तयार पार्नोस्, एक पटक दुई जना अध्यक्ष बसेर हेरौंला, त्यसपछि सचिवालय बैठकबाट पारित गराउनुहोला’ भनेपछि प्रचण्ड दस्तावेज लेखनमा जुटेका हुन् ।

सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ का अनुसार प्रचण्डले पार्टीको वैचारिक सांगठनिक एकता हुने गरी राजनीतिक प्रतिवेदन बनाउनेछन् । ‘उहाँले हामी सबैसँग एकसरो छलफल गर्नुभयो, पार्टी संगठन, जनपरिचालन, प्रदेश र स्थानीय तहका कमिटी र कार्यकर्ताको पनि कार्यविभाजन गर्ने गरी कार्ययोजना तयार पार्नुहुनेछ,’ बादललेले भने– ‘स्थानीय तहको विकास निर्माणका लागि पार्टीको भूमिकाबारे पनि केही खाका आउला ।’

अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने, पार्टी विभाग तथा जनवर्गीय संगठनहरूलाई पूर्णता दिने, पार्टी स्कुल सञ्चालन, पोलिटब्युरो गठन गर्ने, पार्टीको विधान संशोधन गर्ने, आर्थिक परिचालन गर्ने र पार्टीको आम्दानीको स्रोत जुटाउने विषयमा राजनीतिक कार्ययोजना तयार पार्दै गरेको खबर बिनु सुवेदीको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर