newskoseli.Com

यस्तो सुन्दर कालिञ्चोक, तर जान–आउनै कठिन !

दोलखाका कालिञ्चोक, शैलुङ र हनुमन्ते डाँडा हिउँले सेताम्मे छन् । बाक्लो हिउँ थुप्रिएकाले पर्यटकीय प्वाइन्टहरुमा हिउँ खेल्नेको लस्कर छ । दोलखाको सदरमुकाम चरिकोटमा बास बसेका पर्यटकका गाडीको लस्कर आइतबारै कालिञ्चोकतिर छुटेको छ ।

शुक्रबार बिहानैदेखि मौसममा बदलाब आएको थियो । कालिञ्चोकमा हिउँ फुसफुसाउन थाल्यो । काठमाडौं, मूलपानीका अनिलमणि गजुरेल दम्पतीका लागि यो एउटा रोमाञ्चक संयोग थियो । कालिञ्चोक, कुरीमा भेटिएका अनिलमणिले भने– ‘कालिञ्चोक आइपुग्दा अलौकिक आनन्द मिल्यो, जीवनमै पहिलो पटक हिमपातमा रमाउन पाउँदा थकाइ र चिसो सबै भुलेको छु ।’

अप्सरा दंगाल गजुरेलले पनि कालिञ्चोक आइपुग्दा चारैतिर हिउँ देखेर साह्रै आनन्द लागेको बताइन् । ‘पहिलो पटक हिउँसँग खेल्न पाएकी छु, जीवनमा योभन्दा खुसी अरू केही हुँदैनजस्तो भएको छ’– अप्सराले भनिन् । भक्तपुरका सहदेव लामिछानेले पनि जीवनमा पहिलो पटक हिउँसँग खेल्ने मौका पाएका छन् । ‘यति धेरै हिउँ परेको पहिलो पटक देख्दा साह्रै खुसी लागेको छ, कालिञ्चोक त सुन्दर ठाउँ रहेछ’– सहदेवले भने ।

३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको दोलखाको कालिञ्चोकमा शुक्रबार र शनिबार हिमपात भएपछि अहिले हिउँसँग खेल्दै हिमाल र रोमाञ्चक पहाडको दृश्यावलोकन गर्न तथा कालिञ्चोक ‘भगवती’ को दर्शन गर्न सयौंको संख्यामा पर्यटक कालिञ्चोक पुगेका छन् । यो वर्ष पहिलो पटक शुक्रबार बिहानदेखि रातभरि भारी हिमपात भएपछि कालिञ्चोकमा पर्यटकको चाप बढेको कुरीस्थित सुनापति होटलका सञ्चालक हरि ओलीले बताए ।

काठमाडौंबाट चरिकोटसम्मको सडक बिग्रिएकाले केही महिनादेखि पर्यटक आवागमनमा मन्दी भएको तर शुक्रबारदेखि हिमपातसँगै पर्यटकको संख्यामा समेत वृद्धि भएको कालिञ्चोक, कुरीस्थित होटल कन्ट्रिभिल्लाका सञ्चालक नवीन खड्काले बताए । कालिञ्चोकको प्रस्थानविन्दु कुरीमा ३ हजार ५ सय पर्यटक अट्न सक्ने क्षमताका ४० भन्दा बढी होटल छन् ।

कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुवै हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किंबदन्तीअनुसार जलकुण्डबाट दाहिनेतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको खबर राजेन्द्र मानन्धरको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर