newskoseli.Com

बैठक सक्दै, बालुवाटार दौडँदै : प्रचण्डको दिनचर्या !

सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई यो साता असिनपसिन भयो । पार्टी एकीकरणको डेढ वर्षपछि बसेको स्थायी समिति बैठक एक्लै सञ्चालन गर्ने जिम्मा पाएका दाहालसँग अर्को पनि जिम्मेवारी थियो– बैठकमा उठेका विषयबारे प्रधानमन्त्री एवं अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने ।

त्यसैले, उनी स्थायी समिति बैठकको पाँचौं दिनसम्म आइपुग्दा चार दिन त बैठक सकेर सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगे । ‘बैठक सकिएपछि प्रचण्ड सोझै बालुवाटार पुग्नुहुन्थ्यो र नेताहरूले उठाएका विषयबारे ससर्ती जानकारी गराउनुहुन्थ्यो,’ स्रोतले भन्यो– ‘दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेस भएकाले त्यसमा कस्ता विषय उठे भन्नेमा प्रधानमन्त्रीज्यूको अलि धेरै नै चासो थियो ।’

प्रधानमन्त्रीलाई सबै जानकारी गराउने काम अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए । यद्यपि स्वयं रिमाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरल, संसदीय दलका उपनेता सुवास नेम्बाङलगातयतले पनि स्थायी समितिमा उठेका विषयबारे अनौपचारिक रूपमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । रिमालले त स्थायी समिति बैठकमा सरकारले अहिलेसम्म गरेका काम बुँदागत रूपमा प्रस्तुत गर्दै, कामै भएन भन्नु प्रधानमन्त्रीप्रतिको पूर्वाग्रह मात्रै भएको बताएका थिए । ‘०५१ सालदेखि नै सरकार नढलेसम्म सरकारले राम्रो काम गर्‍यो भनिएको जानकारी मलाई छैन, मरेपछि नेता महान् हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं’– रिमालले बैठकमै भनेका थिए ।

बैठकमा उठेका विषयमा प्रधानमन्त्रीले चासो राख्दा आफूहरूले पनि जानकारी गराउने गरेको मन्त्री पोखरेलले बताए । ‘सामान्यतः अध्यक्ष र महासचिवले बैठकबारे जानकारी गराउने, छलफल गर्ने गर्नुभयो, कहिलेकाहीं हामीले पनि जानकारी दियौं,’ पोखरेलले भने– ‘तपाईंहरूले बैठक राम्रोसँग गर्नुभएको छ, यसलाई अझै राम्रो गर्नोस् भन्ने प्रधानमन्त्रीको भनाइ छ ।’

गत १ गते बाहेक बैठक बसेका हरेक दिन ओलीलाई जानकारी गराउन पुगेका प्रचण्डले प्रतिवेदनमाथि उठेका विषयबारे शुक्रबार पनि प्रधानमन्त्री ओलीसँग छलफल गरेको खबर बिनु सुवेदीको बाइलाइनमा शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर