काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गका लागि करिव ७ खर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेसनल रेल–वे एडमिनिस्ट्रेसनले मंसिरको दोस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनले काठमाडौं–पोखराको १ सय ६८ किमी रेलमार्ग निर्माण गर्न झन्डै ४ खर्ब र कुरिनटार–लुम्बिनीसम्म १ सय ८० किलोमिटर रेलमार्ग बनाउन ३ खर्ब लगानी आवश्यक हुने प्रक्षेपण गरेको छ ।
उक्त पूर्वसम्भाव्यता अध्ययनअनुसार काठमाडौं–पोखरा र कुरिनटार–लुम्बिनीसम्मका दुईवटा रेलमार्ग निर्माण हुनेछन् । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार उक्त अध्ययनले काठमाडौं–पोखरा रेलमार्गको काठमाडौं प्रस्थानविन्दु टोखा र पोखराबाट लुम्बिनीका लागि जोडिने प्रस्थानविन्दु कुरिनटार हुने देखाएको खबर हिमा विकको बाइलाइनमा आइतबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।