‘धर्म’ प्रति आस्था राख्नेहरू ‘ग्रहदशा’ फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । ‘भगवान्’ गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ‘ग्रहदशा’ कट्छ भनेर हरेक मङ्गलबार जाउलाखेलस्थित सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् ।
चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भनिन्– ‘ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान् गणेशप्रति आस्था राख्नेहरू आउने गरेका छन् ।’ बाघलाई आहारा खुवाउँदा पनि ‘ग्रह हट्छ’ भन्ने विश्वासले हरेक आइतबार पनि मानिस उत्तिकै चिडियाखाना पुग्ने गरेका छन् ।
हात्तीलाई खाना खुवाउन प्रतिव्यक्ति १५० रुपियाँ र बाघलाई खाना खुवाउन २ सय रुपियाँ लिने गरिएको छ । बाहिरबाट ल्याइएका खाना स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नहुने हुँदा हात्ती वा बाघलाई खुवाइने आहाराको व्यवस्था चिडियाखानाले नै गरिदिने गरेको खबर प्रकृति अधिकारीको बाइलाइनमा शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।