नेपाल ट्रस्टको स्वामित्वमा रहेको पोखराको हिमागृह पनि यती होल्डिङ्स प्रालिलाई दिन चलखेल सुरु भएको छ । पूर्वराजपरिवारको नामबाट ट्रस्टको स्वामित्वमा आएको पोखरास्थित फेवाताल किनारमै अवस्थित १० रोपनी ४ आना क्षेत्रफलमा फैलिएको हिमागृह र त्यसले चर्चेको जग्गा रिसोर्ट बनाउन यतीलाई दिन चलखेल भैरहेको स्रोतको दाबी छ ।
सरकारको चाहनामा २०७३ वैशाख ८ मा आङछिरिङ शेर्पा स्वामित्वको यती समूहलाई हिमागृह र त्यसले चर्चेको जग्गा भाडामा दिने निर्णय भएको थियो । त्यतिबेला पनि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गरेका थिए । नेपाल ट्रस्टका संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीकै चाहनामा त्यतिबेला हिमागृहको जग्गा यतीलाई भाडामा दिने निर्णय भएको ट्रस्टका एक अधिकारी स्मरण गर्छन् ।
हिमागृह र त्यसले चर्चेको जग्गा निजी क्षेत्रलाई दिएको विरोधमा आन्दोलन सुरु भएपछि यतीले प्रयोग गर्न नपाएको ती अधिकारीले बताए । तर, अहिले ‘माथिको आदेश’ भन्दै त्यही निर्णय कार्यान्वयनका लागि ट्रस्टका उच्च अधिकारीहरू नै लागिपरेको खबर सुनील सापकोटाको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।