काठमाडौंमा परीक्षण गरिएका सवारी साधनमध्ये ३८ प्रतिशत प्रदूषण परीक्षणमा असफल भएका छन् । सवारी फिटनेस परीक्षण केन्द्र, टेकुले दिएको जानकारीअनुसार चालू आर्थिक वर्ष २०७६–७७ को साउनदेखि मंसिरसम्मको अवधिमा ५ हजार ५ सय सवारीको प्रदूषण परीक्षण गरिएकामा २ हजारभन्दा बढी परीक्षणमा असफल भएका हुन् ।
यसरी असफल हुने सवारीहरुमा डिजेलबाट चल्ने सवारीको सङ्ख्या बढी छ । केन्द्रका प्राविधिक इन्जिनियर लालबाबु यादवका अनुसार केन्द्रमा औसतमा दैनिक ८० वटा सवारी जाँचका लागि आउने गरेका छन् र तीमध्ये ३० भन्दा बढी असफल हुने गरेका छन् ।
केन्द्रमा २–२ वटा डिजेल र पेट्रोलका सवारीको प्रदूषण जाँच्ने उत्सर्जन जाँचयन्त्र रहेको खबर सोमबारको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।