त्रिभुवन विश्वविद्यालयले फागुन १४ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ मा सम्पन्न निर्वाचनपछिको दुईवर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद फागुन १३ सम्मका लागि मात्र थप गरिएकाले अब फागुन १४ मै निर्वाचन गर्नुपर्ने भएको छ ।
११ वर्ष अघिदेखि हुन नसकेको करिव ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले जानकारी दिए । २०७३ मा करिव २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।
हाल करिव १ हजार १ सय सम्बन्धन प्राप्त क्याम्पस छन् । त्रिविकै बेवास्ताका कारण गतवर्ष अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।