नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा तिलगंगा आँखा प्रतिष्ठानमा आयोजना गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा बोल्दै घिसिङले पनि आफ्नो आँखा दान गर्ने घोषणा गरेका हुन् ।
‘मृत्युपर्यन्त स्वर्ग जाने भन्नेजस्ता काम आँखाजस्तो संसार देखाउने अंग दान गरेर मात्र गर्न सकिन्छ । सबैभन्दा पुण्य काम भनेकै आँखालाई सही रुपमा अरुलाई प्रत्यारोपण गर्नु हो,’ उनले भने– ‘सही र सत्य भगवान् भनेकै परेका बेलामा दिन सक्ने व्यक्ति हो । मानवले आफ्नै निर्णयबाट दिन सक्ने मृत्युपर्यन्त आँखा दान हो । आँखा दान गरौं र आँखा नदेख्नेलाई संसार देखाएर पुण्य कमाऊँ ।’
नेपाललाई छोटो समयमै लोडसेडिङजस्तो महारोगबाट मुक्ति दिलाएका चर्चित कार्यकारी निर्देशक कुलमान घिसिङको समाजसेवी निर्णयसम्बन्धी यो खबर भगवती तिमल्सिनाको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।