उमेर– १६ वर्ष, तौल– ६ किलो, उचाइ– ८१ सेन्टिमिटर मात्रै । केदारस्युँ गाउँपालिका– ७, काँडेचौर, बझाङकी रुमला धामीको शारीरिक अवस्था हो यो ।
रुमलाको परिचय यतिमै सकिँदैन । उनी पूर्णरूपमा अशक्त छिन् । एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न पनि उनलाई सहारा नभई हुन्न । उनका हात खुट्टा समेत राम्रोस्रँग चल्दैनन् । उनी सिधा उभिन समेत सक्दिनन् ।
आमा हाँसुलीदेवीका अनुसार जन्मिँदा उनमा कुनै शारीरिक समस्या थिएन । जन्मेको सात महिनापछि भने उनी नराम्रोसँग बिरामी भइन् । बाबु–आमाले उपचारमा कुनै कमी हुन दिएनन् तर ठीक भएन । त्यसपछि भने उनमा शारीरिक समस्या देखिन थाल्यो ।
‘जन्मेको सात महिनापछि रुमला नराम्ररी बिरामी परिन् । सुरुमा धामीलाई देखायौं, ठीक नभएपछि स्वास्थ्य संस्थामा समेत लग्यौं तर उपचार भएन । के गर्नु, भाग्यले नै ठगेको रहेछ’– आमा हाँसुलीदेवी भन्छिन् ।
रुमलाभन्दा अघिका तीन र पछिका एक सन्तानमा कुनै शारीरिक समस्या छैन । सबै राम्रै छन् । रायल प्राथमिक स्वास्थ्य केन्द्रका अहेव कमल मल्लका अनुसार रुमलाको शारीरिक र मानसिक वृद्धि विकासमा समस्या आउँदा उनी अपांग बनेकी हुन् । उनलाई हालै मात्र पूर्ण अशक्त–अपांगता भएको समूहमा समावेश गरी केदारस्युँ गाउँपालिकाले ‘क’ वर्गको परिचयपत्र दिएको छ ।
सो गाउँपालिकामा पूर्ण अपांगता भएका १५ जना, अति अशक्त ४२, मध्यम १७ र सामान्य अपांगता भएका ६ जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको आईटी इन्जिनियर लेखराज रावलले बताएको खबर डीबी विष्टको बाइलाइनमा मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।