‘मन्त्री भएँ भन्दैमा आफ्नो हैसियत बिर्सिने ? जे मन लाग्यो, त्यही भन्ने ?’ यसो भन्दै हाकिम जंगिँदा शान्तपूर्वक सम्झाउने प्रयास भयो– ‘मन्त्रीसँग बोल्दा हैसियत त तपाईं बिर्संदै हुनुहुन्छ !’ तर, जवाफ आयो– ‘तिम्रो हैसियत मलाई राम्रोसँग थाहा छ, के गर्नुपर्छ मैले पनि जान्या’छु !’
बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर हतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्बाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी कराएका हुन् । राजेश्वर रघुवीरका विश्वासपत्र । उनलाई विस्थापित गरेर गएका रघुवीरकै डिजाइनमा ज्ञवालीले आफूलाई असहयोग गरेको आरोप नेम्बाङले लगाएका थिए ।
प्रशासन महाशखा प्रमुख समेत रहेका राजेश्वरसँग असहयोग गर्नुको कारण मन्त्री नेम्बाङले सोधेपछि हो उनी मन्त्रीसँग मुखमुखै लागेको । रघुवीर सिँचाइमन्त्री हुँदा निजी सचिव रहेका राजेश्वर उनी भौतिकमन्त्री भएपछि पनि महासेठसँगै पछि लागेर आई मन्त्रालय चलाए ।
त्यतिबेला उनी मन्त्रीको निजी सचिवभन्दा पनि कमिसन एजेन्टका रुपमा बढी परिचित थिए । भौतिकमा पनि महासेठले त्यही भूमिकामा राखे । तर, रघुवीरको बहिर्गमनसँगै तिल्मिलाएका राजेश्वरले नयाँ मन्त्रीलाई सुरुदेखि नै असहयोग गर्न थालेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।