राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार छनोट गर्ने क्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालभित्र विवाद चर्कंदै गएको छ । शीर्ष नेतृत्वले सम्धी र उद्योगीलाई सांसद बनाउन खोजेपछि पार्टीभित्र विवाद सुरु भएको हो ।
अध्यक्ष मण्डलले सञ्चालन गर्ने सो पार्टीको अध्यक्ष मण्डलभित्रै विवाद सुरु भएको छ । राजपा नेपालको अध्यक्ष मण्डलमा ६ जना सदस्य छन् । ती ६ जनामध्ये अहिले अध्यक्ष मण्डलको संयोजक राजेन्द्र महतो रहेका छन् । उनै महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव र अलिन झा एकातर्फ छन् भने महन्थ ठाकुर र महेन्द्रराय यादव अर्कोतर्फ उभिएका छन् ।
हाल राजपाको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रमेश यादव र वृषेशचन्द्र नेता यादव निकटका भएकाले ठाकुर र यादव भने यी दुईलाई नै दोहोर्याउने पक्षमा उभिएको खबर सुभाष साहको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।