सवारीचालक इन्द्र श्रेष्ठको यहाँ न घर छ न त डेरा । तर, उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो ।
डेरा लिँदा महिनामा १० हजार रुपैयाँ तिर्नुपर्छ तर लजमा सुत्दा प्रतिरात १५० रुपियाँ तिरे पुग्छ । खाना पनि लजमै सस्तोमा पाइन्छ । नुहाउन पानी पनि पाइन्छ । व्यवस्थित शौचालय पनि मिल्छ । डेरा (कोठा) मा जस्तो पानी नपाइने, अप्ठ्यारो शौचालय र खाना पकाउने टन्टो पनि भएन । ‘यति सुविधा हुँदाहुँदै कसले टन्टो बोकोस् !’ श्रेष्ठको भनाइ छ ।
त्यसो त काठमाडौंका भोटेबहाल, गणबहाल र सहरका यत्रतत्र लजमा एउटै कोठामा ६ बेडको व्यवस्था हुन्छ । ६ बेडमा १२ जना मिलेर सुत्ने र आधा–आधा पैसा उठाएर लजलाई तिर्ने, निरन्तर लजमा सुत्नेलाई त लज सञ्चालकले छुट दिँदा झनै फाइदा हुने श्रेष्ठको अनुभव रहेको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।