सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश र जनताको सेवा गर्नका लागि आफूले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएलगत्तै आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीको निर्णयअनुसार आफू उम्मेदवार बनेको उनले बताए ।
‘राजनीति देश र जनताको सेवाका लागि गरिन्छ,’ उनले भने– ‘त्यो अहिले पनि गरिराखिएकै छ तर जिम्मेवारी नै लिएर गर्दा झन् प्रभावकारी हुन्छ भन्ने लागेकाले उम्मेदवार बन्ने निर्णय गरेको हुँ ।’ सरकार आर्थिक क्रान्तिलाई निर्णायक बनाउँदै समृद्धिको यात्रामा फड्को मार्न अगाडि बढेको तथा देश समाजवादको आधार तयार पार्दै सामाजिक न्यायसहितको आर्थिक क्रान्ति गर्ने दिशामा अगाडि बढेकाले त्यसलाई सफल बनाउन सहयोग गर्न र इँट्टा थप्नका लागि आफू उम्मेदवार बनेको दावी उनले गरे।
संघीय संसद् र राष्ट्रियसभा सदस्यको उम्मेदवार नहुने आफूले नभनेको श्रेष्ठले दावी गरे । ‘हुँदै नभएको कुरा ‘नारायणकाजीको बाचा’ भनेर पत्रकार साथीहरूले भन्दिनु भएन,’ ‘उनले भने– ‘मैले ५ वर्ष संघीय संसदको सदस्य बन्दिनँ भनेको छैन, राष्ट्रियसभामा पनि जान्नँ कहिल्यै भनेको छैन । त्यसको अर्थ मैले जान्छु पनि भनेको थिइँन, मैले त्यतिबेला भनेको चाहिँ के हो भने प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएँ, प्रतिनिधिसभा सदस्यमा पराजित भएँ, यो ५ वर्ष प्रतिनिधिसभाको सदस्यमा उपनिर्वाचन नै भए पनि वा अन्य केही भए पनि उम्मेदवार बन्दिनँ भनेको हुँ।’
आफूले गरेको बाचामा अहिले पनि प्रतिबद्ध रहेको उनले दोहोर्याए । नेकपा ५ वटा मुख्य कुरामा केन्द्रित रहेको श्रेष्ठले बताए । नेकपा अहिले सांगठनिक काममा केन्द्रित रहेको र त्यो अन्तिम चरणमा पुगेकाले यसलाई केही दिनभित्रै सक्ने उनले बताएको खबर सन्देश श्रेष्ठको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।